प्रचण्डलाई विप्लवले फर्काए यस्ताे जवाफ

होमल्याण्ड खबर

२०८२ माघ १६ गते, बिहीबार १५:१४ मा प्रकाशित

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। प्रचण्डले हिजो माओवादीका नेता कार्यकर्ता पार्टीमा भित्र्याउँदै विप्लवलाई पनि नेकपा एकताबद्ध हुन अपिल गरेका थिए।

प्रचण्डको आग्रहलाई विप्लवले जवाफ दिँदै भनेका छन्, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो‌ । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेप्ट्याएका हुतीहारा मात्र पर्छ ।’

अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र रहेको भन्दै आउँदो भविष्यले साबित गर्ने जिकिर गरे।

उनले आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र मालेमावादी पार्टीको सुदृढीकरणको पक्षमा रहेको बताए।