आज ४३ औं राष्ट्रिय मेलमिलाप दिवस

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १०:०५ मा प्रकाशित

४३ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्कनुभएको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

यूग नेता विपि कोईरालालाई काँग्रेसको राजनीति अनि एउटा पार्टीगत छवीबाट नहेरिकन स्वतन्त्र नेपाली वैचारीक योद्धाका रुपमा नियाल्ने हो भने मेलमिलापको राष्ट्रिय नीति वहाँको महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । उनैद्वारा स्थापित यस सद्भावात्मक विचारको कदर स्वरूप हरेक वर्ष पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ ।

इतिहास पल्ट्याएर हेर्ने हो भने तात्कालिन राजतन्त्रात्मक शासन पद्धत्तिले मृत्यूदण्ड सुनाए पश्चात् प्रवासनमा रहेका बहूदलका पक्षधर अनि प्रजातन्त्रका सेनानी नेताहरु २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएका थिए । यस मेलमिलापको नीतिनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडी सारेका थिए ।

राजनैतिक पार्टी, समूदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा मिठास बनि घुलिरहोस्, एकताको विगुल फुकोस, सबै नेपाली एक हौं । बादल, चरा, नदि अनि बतासलाई कुनै सीमानाले छेक्न सक्दैन । नेपालीपन त्यस्तै विशाल शक्ति हो जून सदैव नेपाली हुनुमा गर्व गर्ने ताकत प्रदान गर्दछ अनि यो भावना सर्वदा जिवित रहोस्, जिवन्त रहोस् ।

तराइलाई दुख्दा हिमालले सहयोग गरोस्, पहाडका घाउहरुमा हिमाल र तराई मिलेर ओखती गरुन् । नेपाल साँच्चै पनि एउटा स्वर्गको टुक्रा हो, मेलमिलाप र एकताको भावनाले यो अनूपम स्वर्गलाई अझै उज्यालो पार्नेछ ।

कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।