२२ फाल्गुन २०८२, शुक्रबार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी प्रचारप्रसारको सक्रिय अभियानमा लागेका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार सोमबारदेखि उनी सक्रिय ढंगले क्षेत्रको प्रचार अभियानमा जुटेका छन् ।
सप्तरी क्षेत्र नं. ३ का उम्मेदवार अध्यक्ष यादव आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारप्रसारका क्रममा औपचारिक रूपमा घरदैलो अभियान थालेका हुन् । विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।


पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ को मझौरा, ब्रह्मपुर, सिंगिया, वडा नम्बर १ को कबिलासा, मधुबनी लगायतका गाउँहरूमा जसपा नेपालका अध्यक्ष यादवले घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा उनले मतदाताहरुसँग भेटघाट गर्दै संविधान संसाधन गरी बाँकी अधिकार प्राप्ति र विकासका लागि आफूसहित पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । यादवे शहिदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै भएको तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘शहिदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ । अब निर्णय तपाईँको हातमा छ– इतिहास लेख्ने कि इतिहास मेट्ने ?’
उनले मधेश जनविद्रोह केवल आन्दोलन मात्र नभएको बताउँदै त्यो मधेशको आत्मसम्मानको घोषणापत्र रहेको उल्ल्खे गरेका छन् ।
‘गोली, दमन र षड्यन्त्रका बीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो,’ यादवले भनेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका र शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन् ।