३० कार्तिक २०८१, शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन कार्यदलका ९ नेतालाई बालुवाटारमा बोलएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश तथा स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकताको मापदण्डलगायतका विषयमा छलफल गर्ने भन्दै अध्यक्षद्वयले नेताहरुलाई बोलाएका हुन् ।
स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।
मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले दुवै अध्यक्षलाई बुझाउने प्रतिवेदनका आधारमा पुस महिनाभित्रै एकताका बाँकी काम टुंगो लगाउने नेकपाको तयारी छ ।