संघीयता सुरक्षित गर्न मधेस बलियो हुनुपर्छ: उपेन्द्र यादव

होमल्याण्ड खबर

२०८२ फाल्गुन १० गते, आईतवार १६:२६ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेसको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन् । संघीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए ।

‘संघीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रिकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आइतबार मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेस जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।’

सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका जसपा नेपालका अध्यक्ष यादवले संघीयता माथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्तिहरू संघीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

‘मुलुकमा संघीयता धानिएकै मधेस प्रदेशको दृढ अडानको कारणले हो । मधेसले आवाज उठाएन भने संघीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेस सधैं अग्रपंक्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने ।