२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरूले कांग्रेस बदलेर आएको भन्दै अब देश बदल्ने बताएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मधेस गएको बताए । “हामी कांग्रेस बदलेर आएका छौँ, अब देश बदल्न चाहन्छौँ,” थापाले भने ।


यो चुनाव यसरी आउने अनुमान नगरेको उनको भनाइ छ । चुनावबारे संशय सिर्जना गर्न खोजिएको भन्दै चुनाव सफल बनाउन आग्रह गरे ।
०७४ पछि सरकार बनाउने र गिराउने खेलमै राजनीति सीमित भएको थापाले बताए । गठबन्धन राजनीतिले पार्टीलाई कमजोर बनाएको उनको भनाइ छ । आगामी पाँच वर्षभित्र देश सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकले बिरामी हुँदा उपचार खर्च तिर्न नपरोस् र सबैले शिक्षा पाउने व्यवस्था गरिने बताए । काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्दै उनले भने, ”नेपाली कांग्रेस यसको लागि प्रतिबद्ध छ ।”
थापाले सबै राजनीतिक दललाई पाँच वर्षमा देश कस्तो बनाउने भन्ने विषयमा खुला बहस गर्न आह्वान गरे । “बहसमा आउनुस् भनेर भन्दा कोही आउँदैनन्, साँझ भट्टीमा गएर गाली मात्र गर्छन्,” उनले कटाक्ष गर्दै भने, “नेपाली कांग्रेसले देशलाई दुर्घटनामा पर्न दिदैन ।”
भ्रष्टाचार नियन्त्रणबारे उनले ०४६ पछिका सबै चर्चित काण्डको छानबिन गरिने बताए । “आफ्नै परिवारको सदस्य भए पनि दोषी भए छोडिने छैन,” उनले भने ।
कर्णालीको विकासका लागि संविधान र कानुनमा केही संशोधन आवश्यक रहेको उल्लेख गर्दै थापाले बजेट खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्न कानुनी उपाय खोज्नुपर्ने बताए । कात्तिक–मंसिरमा हिमपातका कारण विकास बजेट खर्चमा समस्या हुने गरेको उनको भनाइ छ । आगामी पाँच वर्षलाई परिवर्तनको वर्ष बनाउने उनको प्रतिबद्धता छ ।