विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

होमल्याण्ड खबर

२०८२ फाल्गुन १९ गते, मंगलवार ११:०८ मा प्रकाशित

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।

यसैबिच, निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् भने ६५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् । जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

उनका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछन् । निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा, दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।