गजेन्द्रनारायण सिंह अस्पतालमा आगलागी, विरामी भागाभाग

होमल्याण्ड खबर

२०८२ फाल्गुन २५ गते, सोमबार १४:४९ मा प्रकाशित

सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ । विहान ११ बजेतिर अस्पतालको डेन्टल ओपिडी वार्ड बाट सुरु भएको आगलागी तत्काल नियन्त्रणको उपाय हुन नसक्दा छेउमै रहेको रेकर्ड कोठामा समेत फैलिएको थियो ।

आगलागीबाट डेन्टल र रेकर्ड विभागमा रहेको करिब २४ लाख मुल्य बराबरको सरसामान जलेर नष्ट भएको हो ।

अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. अवधेश मिश्राका अनुसार उक्त दुवै विभागका गरी ३ वडा डेन्टल मेशिन, २ वटा कम्प्रेसर मेशिन, ३ वटा डेन्टल चेयर, १ वटा फ्रिज, ७ वटा पंखा, टेबुल, कुर्सी र अन्य उपकरण गरी २४ लाख बराबरको सम्पति जलेर खरानी भएको छ । डेन्टल विभागमा कार्यरत डा.दिपाली झाले विरामी जाँच गरिरहेकै बेला अचानक डेन्टल चेयरमा विद्युत सर्टभई आगलागी सुरु भएको थियो । आगो विद्युतीय गतिमा फैलिएपछि विरामी र आफन्तमा भागाभाग मच्चिएको थियो ।

घट्नाको खवर पाए लगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली अस्पताल पुगेर नियन्त्रण्को प्रयासमा जुटेका थिए । सेना, प्रहरी र २ वटा बारुणयन्त्रको मद्दतले आधा घण्टाको प्रयास पश्चात आगो माथी नियन्त्रण कायम गरिएको छ ।

घट्नाको खबर पाएपछि पुगेका नव निर्वाचित प्रतिनिधिसभा सदस्य रामजी यादव, रास्वपाका समानुपातिक उम्मेदवार डा. अंकिता ठाकुरले अस्पताल प्रशासन संग आवश्यक जानकारी लिएका छन् । उनीहरुले अस्पतालमा देखिएका अन्य समस्याहरु ’bout समेत जानकारी लिदै सुधारका लागि पहल र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।