२९ फाल्गुन २०८२, शुक्रबार
सुर्खेतको वीरेन्द्रनगर-१ निवासी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दल केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै यस क्रूर र आततायी घटनाको कडा शब्दमा भर्त्सना गरेको हो ।
तरुण दलले पीडित परिवारलाई तत्काल न्यायको अनुभूति गराउन, उचित क्षतिपूर्तिको व्यवस्था गर्न र परिवारको पूर्ण सुरक्षा सुनिश्चित गर्न समेत आग्रह गरेको छ । पछिल्लो समय महिला तथा बालबालिकामाथि शृङ्खलाबद्ध रूपमा भइरहेका यस्ता हिंसात्मक र जघन्य अपराध नियन्त्रण गर्न राज्य प्रशासन अझ बढी संवेदनशील र जिम्मेवार हुनुपर्नेमा विज्ञप्तिमा विशेष जोड दिइएको छ ।


यसैबीच, तरुण दलले घटनाको अनुसन्धानमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न वा अपराधीलाई संरक्षण दिने प्रयास नगर्न प्रशासनलाई सचेत गराएको छ । न्याय निरुपणको प्रक्रियामा अवरोध खडा भए वा दोषीलाई जोगाउने षड्यन्त्र भएमा आफूहरू चुप लागेर नबस्ने चेतावनी दिँदै तरुण दलले न्यायका लागि देशभर सशक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
