२ चैत्र २०८२, सोमबार
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । राजदूत चाङले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष दाहालले नेपालका लागि नवनियुक्त राजदूत चाङलाई स्वागत गर्दै भने, ‘तपाईंलाई नेपालमा स्वागत छ, तपाईंको कार्यकालमा नेपाल-चीन सम्बन्ध अझ घनिष्ट र उचाइमा पुग्ने विश्वास लिएको छु।’ नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।


गत फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सह्रानीय रहेको बताए ।
नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गर्दै उनले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार नै अगाडि बढ्ने जानकारी गराए । चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे ।
बीआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिए ।
अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सीधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गरे । उनले कनेक्टिभिटीका लागि सडक सञ्जाल र सीमा नाकाहरुको पूर्वाधार विकासमा पनि पहल गर्न अनुरोध गरे ।
सो अवसरमा राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए । उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाईमा उठेको बताएका थिए ।
नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताए ।
बीआरआई लगायत चीन-नेपालबीच भएका सम्झौताहरु छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताए ।