६ चैत्र २०८२, शुक्रबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा छलफलका लागि प्रस्तावका रूपमा पेस गर्ने जानकारी दुलालले दिए । सहमहामन्त्री उदय शमशेर राणाले केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय गरिएको जानकारी दिए ।


सभापति थापाले बुधबार उपसभापति शर्मालाई राजीनामा दिएका थिए । त्यो राजीनामा केन्द्रीय कार्यालयमा दर्ता भने भएको छैन । कार्यवाहक मुख्यसचिव दुलालले राजीनामा दर्ता नभएको र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावका रूपमा पेस गर्ने जानकारी दिए ।