शिव परियार भन्छन्– ममाथि अन्याय भयो, पुनर्मूल्यांकन गरियोस्

होमल्याण्ड खबर

२०८२ चैत्र १६ गते, सोमबार १०:४१ मा प्रकाशित

गायक शिव परियारले गौरीबहादुर कार्की आयोग प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा आफ्नो नाम रहेकोप्रति आपत्ति जनाएका छन् । उक्त प्रतिवेदनमा रहेको आरोप वास्तविकतामा आधारित नरहेको उनको दाबी छ ।

भदौ २४ गते सामाजिक सञ्जालमा ‘बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने पोस्ट आफूले  पटक–पटक देखेपछि, उक्त विषयको सत्यता बुझ्ने उद्देश्यले एउटा जिज्ञासामूलक पोस्ट लेखेको उनले प्रष्ट पारेका छन् ।

‘हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?’ भनेर आफूले लेखेको उनले बताएका छन् ।

“उक्त पोस्ट कुनै पनि प्रकारको पुष्टि, दाबी, भ्रामक सूचना प्रवाह वा प्रचार गर्ने उद्देश्यले नभई, नेपालको संविधानमा सुरक्षित नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै, केवल सामाजिक सञ्जालमा तत्कालीन समयमा फैलिएको खबरको सत्यता बुझ्ने जिज्ञासामूलक प्रश्न मात्र थियो,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उक्त पोस्टमा प्राप्त प्रतिक्रियाहरूबाट उक्त खबर भ्रामक र गलत रहेको प्रष्ट भएपछि आफूले उक्त पोस्टको आवश्यकता नरहेको महसुस गरी हटाएको परियारले प्रस्ट पारेका छन् ।

“केही सामाजिक सञ्जाल फेसबुक पेज, फेसबुक ग्रुप तथा केही अनलाइन सञ्चारमाध्यमहरूले मेरो पोस्टको वास्तविक सत्य तथ्य नबुझी, मैले लेखेको उक्त पोस्टको वास्तविकतालाई बंग्याएर, ममाथि अत्यन्त पूर्वाग्रही र प्रतिशोधात्मक भावना राखेर, गम्भीर आरोपसहितका हेडलाइनमा ‘सामाजिक सञ्जालमा भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गरी मेरोबारे भ्रामक समाचार प्रकाशित गरे,” उनले लेखेका छन् । तिनै समाचारका आधारमा प्रतिवदेन तयार पारिएको उनले बताएका छन् ।

“हाल सोही समयमा प्रकाशित समाचार सामग्री र ती समाचारकै आधारमा उठेका आरोपहरूलाई आधार मानी गौरीबहादुर कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदनमा मलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’का रूपमा उल्लेख गरिएकोमा म अत्यन्त दुःखका साथ गम्भीर आपत्ति प्रकट गर्दछु,” उनले लेखेका छन् ।

प्रतिवेदनमा रहेको आरोपले आफ्नो संवैधानिक नागरिक अधिकार, व्यक्तिगत प्रतिष्ठा तथा कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर नकारात्मक असर पारेको भन्दै परियारले लेखेका छन्, “यसबाट म गहिरो रूपमा मर्माहत भएको छु ।”

उनले प्रतिवेदनको निष्कर्षलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । “भ्रामक समाचार/सूचनाका आधारमा गरिएका निष्कर्षलाई पुनर्विचार गरी म माथि पर्न गएको अन्यायका विषयमा पुनर्मूल्यांकन गरियोस्,” उनी अगाडि लेख्छन्, “मलाई विश्वास छ, हामी सबैको आशाको केन्द्र बनेको राज्यले ममाथि अन्याय हुन दिने छैन ।”