१० बैशाख २०८३, बिहीबार
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न चेतावनी दिएकी छिन् ।
“अहिले निर्वाचित सरकारले संविधान र कानुनसम्मतभन्दा पनि प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगरोस् भनेर हामी उहाँहरूलाई भन्न चाहन्छौँ । पत्रकार भनेको जहिले पनि वाचडगका रूपमा रहेको हुन्छ,” उनले भनिन् ।


अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसाबले सशक्त रूपमा उभिने स्पष्ट पारिन् ।
शर्माले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एसोसिएसनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने पनि जानकारी दिइन् । कतिपय कानुनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानुन आउन लागेकामा उनले चिन्तासमेत व्यक्त गरिन् । सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानुन ल्याउन उनको आग्रह छ ।
पत्रकारको श्रम अधिकारका विषयमा महासंघले कुनै पनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने उनले बताइन् । हाल धेरै मिडिया हाउस आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
महासंघले देशभरका पत्रकारहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दै श्रम अधिकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफ्नो अभियान जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।