वाइडबडी खरिद प्रकरण : पूर्व र वहालवालासहित तीन मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस

होमल्याण्ड खबर

२०७५ पुष १८ गते, बुधबार १४:१० मा प्रकाशित

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वाइडबडी जहाज अनियमितताबारे छानबिन गर्न बनेको उपसमितिले बहालवाला दुई सचिव, तत्कालीन एक सचिव र निगमका महाप्रबन्धकलाई बर्खास्त गरी भ्रष्टाचार कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न सांसद राजन केसीको संयोजकत्वमा बनेको उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र अहिले राष्ट्रियसभाका सदस्यसमेत रहेका पूर्वमन्त्री जितेन्द्र नारायण देवलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समिति बैठकमा पेस गरेको हो । साथै प्रतिवेदनमा पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राई, पूर्व पर्यटन सचिव शंकर अधिकारी, वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल निलम्बन गरेर कारबाही गर्न भनिएको छ ।

राजन केसीको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवदेनमा निगमले सार्वजनिक खरिद ऐन लगायत अन्य विधि र प्रक्रिया मिचेर वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रकम हिनामिना गरेको ठहर गरेको हो ।

प्रतिवेदनमा उपसमितिले जहाज खरिद नै बदनियतपूर्ण, पुरानोमा विचौलिया प्रयोग गरिएको, प्रायस् सबै खरिद प्रक्रियालाई दुरुपयोग गरेको, जहाजको २४२ अधिकतम उड्डयन तौल हुनुपर्नेमा २३० को ल्याइएको निष्कर्ष निकालेको छ ।

वाइडबडी अनियमितताबारे छानबिन गर्न लेखा समितिले केसीको नेतृत्वमा गत मंसिर २६ गते ७ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीप यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन् ।
उपसमितिले वाइडबडीको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन पनि सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमले गएको असार र साउनमा झन्डै २५ अर्ब रुपैयाँ खर्च गरेर एयरबस कम्पनीका २ वटा वाइडबडी जहाज खरिद गरेको थियो ।

महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रियामा अनियमितता भएको स्पष्ट उल्लेख भएको हुँदा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएकाले उनलाई उपसमितिले दोषी ठहर गरेको छ ।
यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनबाट आफू अचम्ममा परेको र घटनाबाट दुःखी र अचम्मित भएको बताएका छन् ।