पूर्वमन्त्रीले कर्मचारीको असहयोग सुनाउँदा प्रधानमन्त्री शाहले के भने ?

२०८२ चैत्र १८ गते, बुधबार १०:२० मा प्रकाशित<

 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ मध्ये १३ जना सांसद सहभागी थिए।

छलफलमा सहभागी रास्वपा सांसद आनन्दबहादुर चन्दले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति एवं आगामी योजनाबारे कुराकानी भएको हो।

यस्तै एमाले सांसद ऐन महरका अनुसार बैठक गरेर प्रधानमन्त्री शाहले सांसदलाई आफ्नो कुरा राख्न भनेका थिए।

उनले भने, ‘उहाँले बैठक सुरु गरौँ भन्नुभयो। सुरुमा मैले कुरा राखेँ। हामी १३ जना सांसदले आ–आफ्नो निर्वाचन क्षेत्र र सुदूरपपश्चिमको समग्र विकासको विषयमा कुरा गर्‍यौँ।’

महरका अनुसार सांसदको कुरा सुनेपछि प्रधानमन्त्री शाहले आफैँ धेरै कुरा जान्न बुझ्न पाइन्छ भनेर सांसदसँग छलफल सुरु गरेको बताएका थिए।

प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरुको सबै कुरा नोट गरिएको छ। लिखित पनि माग्न सकिन्थ्यो। भेटेरै कुराकानी गरेपछि मलाई पनि अलिकति महसुस हुन्छ। आफैँ धेरै कुरा जान्न र बुझ्न पाइन्छ भनेर हो।’

कांग्रेस सांसद भरतबहादुर खड्काले सुदूरपश्चिको विकासका लागि आफूले ८ बुँदे सुझाव दिएको बताए।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली सारेर अन्याय गरिएको भन्दै डोटीलाई न्याय गर्नु आफूले आग्रह गरेको खड्काले बताए।

बैठकमा एमाले सांसद गणेश ठगुन्नाले कर्मचारीका कारण डेलिभरीमा समस्या हुने भन्दै कडाइ गर्न सुझाव दिएपछि प्रधानमन्त्री शाहले प्रतिप्रश्न गरेका थिए।

‘म (गणेश ठगुन्ना) संघीय मामिलामन्त्री पनि भएको हुँ। कर्मचारीले काम नगरिँदा डेलिभरीमा समस्या हुने गरेको अनुभूति छ। कर्मचारीलाई अलिकति कडाइ गर्नुपर्छ भन्नुभएको थियो’, महरले ठगुन्नालाई उद्धृत गर्दै भने, ‘प्रधानमन्त्रीजीले तपाईंहरुले सहयोग गर्नुप¥यो। यसमा मैले तह लगाउँछु भन्नुभयो।’

बैठकमा एमाले सांसद महर, ठगुन्ना र यज्ञबहादुर बोगटीले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको विषयमा कुरा उठाएका थिए।

‘एमालेका हामी तीनै जनाले देश विकासमा लाग्नुहोस्। प्रतिशोधको राजनीतिमा लाग्दा देशको विकास हुँदैन। पूर्वाग्रह र प्रतिशोधको राजनीति नगर्नुहोस् भन्यौँ। उहाँले सुन्नुभयो। केही बोल्नुभएन’, उनले  भने।