१० बैशाख २०८३, बिहीबार
नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । प्रतिनिधि सभाको निर्वाचन, संसदीय दलको नेता चयन र हिजो प्रतिनिधि सभाको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिले गर्दा एमालेभित्र तरङ्ग ल्याएको छ ।
यहीबिचमा नेतृत्व परिवर्तनको माग लिँदै एमाले युवाहरूको आज पनि पार्टी मुख्यालयमा प्रदर्शन जारी राखेका छन् । दलको नेतामा युवा नेता सुहाङ नेम्वाङलाई रोकेर बादललाई अघि सारेपछि युवाहरूले हिजोदेखि च्यासलमा प्रदर्शन थालेका थिए ।


पार्टी मुख्यालयमा प्रदर्शनमा रहेका युवाहरूले आज सचिवालय सदस्य बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई फुल दिएर स्वागत गरे। बादलले हिजो सदनमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद चर्किएपछि आज आकस्मिक रूपमा सचिवालय बैठक राखिएको हो।
बैठकमा छिर्दै गरेका कार्यवाहक अध्यक्ष बादललाई युवाहरूले आजैको सचिवालय बैठकले केन्द्रदेखि वडा तहसम्म पार्टी पुनर्गठनको निर्णय लिन आग्रह गरे। पार्टी र आम कार्यकर्ताको भावना अनुसार अहिलेको कमिटी विघटन गरेर नयाँ कमिटीमा जाने निर्णय गर्नको लागि सुझाए।