महावीर पुन भन्छन् – नातावाद, कृपावाद र चाकरीवादबाट सरकार र दलहरू जोगिनुपर्छ

होमल्याण्ड खबर

२०८२ चैत्र २५ गते, बुधबार १५:४३ मा प्रकाशित

प्रतिनिधि सभा सदस्य महावीर पुनले नेपालमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद नामक भाइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू मुक्त हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक विशेष समयमा पुनले यो भाइरस नेपालको इतिहासदेखि नै जरा गाडेर बसेको बताए । नेपाल एकीकरणपछि रणबहादुर शाहको बाल्यकालमा शासन सञ्चालनका क्रममा यो प्रवृत्ति सुरु भएको उनको भनाइ थियो ।

राणा शासनको अन्त्य, प्रजातन्त्रको आगमन र गणतन्त्र स्थापना भएपश्चात् पनि यो विकृतिले विभिन्न रूपमा निरन्तरता पाइरहेको पुनले बताए ।

यस्ता विकृतिले मुलुकको विकास र सुशासनमा गम्भीर बाधा पुर्‍याएको भन्दै पुनले यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।

सरकार, राजनीतिक दलका नेता र सांसदहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष र योग्य व्यक्तिलाई अवसर दिनुपर्ने उनले बताए । यसो गर्न सके मात्रै मुलुकमा दिगो विकास र सुशासन कायम हुने उनको भनाइ थियो।