१० बैशाख २०८३, बिहीबार
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिनुभयो । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्नुभयो । प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।
सोही अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गर्नुभयो । नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना तथा एक हजार ६०८ प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम पूरा गरिसकेका छन् ।
सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूसमेत सहभागी गराइ तालिम सञ्चालन हुँदै आएकामा हालसम्म विभिन्न राष्ट्रका ३२ विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन् । समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनहरूले सुशोभन गरेका थिए ।