१० बैशाख २०८३, बिहीबार
मरिससको राजधानी लुइसमा हुने नवौं हिन्द महासागर सम्मेलन (आईओसी)मा सहभागी हुन जाने क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन् ।
भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन मन्त्री खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । त्यसक्रममा नयाँ दिल्ली पुगेका उनलाई त्यहाँस्थित नेपाली दूतावासले स्वागत गरेको छ ।


त्यसक्रममा मन्त्री खनालले दूतावासका कूटनीतिक कर्मचारीहरूसँग छोटो अन्तरक्रिया गरेका भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षकमा आज शुक्रबार र भोलि शनिबार हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गरेको हो ।
परराष्ट्रमन्त्री खनाल शुक्रबार नयाँ दिल्लीबाट मरिसस प्रस्थान गरिसकेका छन् । सम्मेलनमा उनले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् ।
उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्त्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।