१० बैशाख २०८३, बिहीबार
सर्वोच्च अदाललते महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
उनीविरुद्ध तीनवटा उजुरी दर्ता भएका छन्। तीनवटै उजुरी एकैसाथ राखी न्यायाधीश रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो।


महान्यायाधिवक्ता कँडेलको नियु्क्ति असंवैधानिक दावी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत,दिपकराज जोशी ,शिवराज बरालसमेतलगायतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख छ। कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको रिट निवेदकको दावी छ।
राष्ट्रपतिको कार्यालय शितल,प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार,नेपाल सरकार मन्त्रिपरिषद् प्रधानमन्त्रीको कार्यालय सिंहदरबार ,महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ र महान्यायाधिवक्ता डा.कँडेललाई रिटमा विपक्षी बनाइएको छ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ चैत्र २२ गते डा.कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।