सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) ले आफ्ना सेवाहरू अनलाइनमार्फत सञ्चालन गर्ने सम्बन्धमा सूचना जारी गरेको छ ।
जारी सूचना अनुसार विभागबाट प्रवाह हुने सबै सेवाहरू २०८३ वैशाख १६ गतेदेखि अनलाइन प्रणालीबाट समेत सुरु गरिएको छ । अब सेवाग्राहीहरूले विभागमा उपस्थित नभई आफ्नै स्थानबाटै सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक लगायतका सेवा अनलाइनमार्फत लिन सक्नेछन् ।


त्यस्तै, तलबी प्रतिवेदन पारित गराउनका लागि विभागले तोकेको इमेल ठेगाना मार्फत प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ । निवृत्तिभरण अधिकारपत्र जारी गर्ने कार्यका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय वा आफू कार्यरत कार्यालयमार्फत विभागको पहुँच (access) प्राप्त गरी अनलाइन सेवा लिन सकिने पनि सूचनामा उल्लेख छ ।
सेवाग्राहीलाई अनलाइन प्रणाली प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले विभागको आधिकारिक वेबसाइटमा आवश्यक जानकारी तथा भिडियो ट्युटोरियल समेत उपलब्ध गराइएको छ । विभागले सबै सम्बन्धितलाई अनलाइन सेवा प्रयोग गरी सहज र छिटो सेवा लिन अनुरोध गरेको छ ।





