स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो

होमल्याण्ड खबर

२०८३ जेष्ठ १ गते, शुक्रबार १७:१५ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट हालसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका छन् । कामपाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका कामपाले जनाएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार ७३ हजार ५०४ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आव २०८०/८१ मा एक लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिनुभएको थियो । आव २०८१/८२ मा एक लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको सङ्ख्या ५९ हजार ५९ थियो ।” उहाँका अनुसार यस वर्ष करिब दुई लाख ४० हजार सेवाग्राहीले सेवा लिने आकलन गरिएको छ ।

केसीले भन्नुभयो, “कामपाको कुल बजेटको तीन दशमलव नौ प्रतिशत स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।” उहाँका अनुसार सुशासन र व्यवस्थापन क्षेत्रअन्तर्गत छ वटा उपक्षेत्र, ७५ वटा सूचक र ७६ मूल्याङ्कन अङ्कभार छ ।

क्लिनिकल सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, १७५ वटा सूचक र २०८ अङ्कभार तथा स्वास्थ्य संस्था सहयोगी सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, ८६ वटा सूचकको ९५ अङ्कभारमा मूल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । कामपाले हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्योपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । त्यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालनमा रहेकास्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रवर्द्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, नसर्ने रोग नियन्त्रण, सचेतना महाअभियान, सरुवा रोग नियन्त्रणलगायत कार्यक्रम रहेका छन् ।