अध्यक्षज्यू मार्गप्रशस्त गर्ने मुडमा हुनुहुन्न : भट्टराई

होमल्याण्ड खबर

२०८३ जेष्ठ १० गते, आईतवार १२:५६ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको सचिवालय बैठकमा जवाफ दिने भएका छन् ।

वैशाख ४, ८ र ९ गते बसेको केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले खुलेर आफ्नो धारणा राखेपछि अध्यक्ष ओलीले आइतबारको बैठकमा जवाफ दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालय बैठकमा धारणा राख्ने अधिकांश सदस्यले नेतृत्वले निकास दिनुपर्नेमा जोड दिएका छन् ।

उपमहासचिव योगेश भट्टराईका अनुसार अधिकांश सचिवालय सदस्यहरूले नेतृत्वले निकास दिनुपर्ने धारणा राखेका छन् । “मैले पनि आफ्नो धारणा राख्ने क्रममा अध्यक्षज्यूले मार्गप्रशस्त गर्न माग गरेको छु । तर, उहाँको मुड नछोड्ने देखिन्छ,” उनले भने ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा अहिले बिहान साढे ११ बजे बैठक बस्ने ओलीको सचिवालय प्रमुख निरु पालले जानकारी दिइन् । उनका अनुसार बैठकमा प्रस्तावित विषयमाथि निर्णय हुनेछ । यस्तै, ओलीले पनि सचिवालय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् ।