१० जेष्ठ २०८३, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।
उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रमा प्रदेश तथा जिल्ला सभापतिहरूलाई महाधिवेशन तयारीलाई तीव्र रूपमा अघि बढाउन निर्देशन दिइएको छ ।


परिपत्रअनुसार निर्वाचन समिति गठनदेखि प्रतिनिधिको नामावली संकलन, अधिवेशन प्रतिवेदन पेश तथा इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफलसम्मका कार्यक्रम समावेश गरिएको छ ।
रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार ७७ वटै जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ ।
त्यसपछि आधिकारिक परिपत्र तथा म्यानुअल पठाउने, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने लगायतका काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, महाधिवेशन प्रतिनिधिको नामावली जिल्ला तथा प्रदेश समितिमार्फत पेश गरिनेछ भने प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पनि केन्द्रीय निर्वाचन आयोगमा बुझाइनेछ ।
कार्यतालिकामा इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफलसमेत समावेश गरिएको छ ।
रास्वपाले आगामी महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन मेसिनः प्रयोगको सम्भावनाबारे छलफल थालेको देखिएको छ ।
परिपत्रमा सबै प्रदेश सभापतिहरूलाई आफ्नो प्रदेशअन्तर्गतका जिल्ला समितिसँग आवश्यक समन्वय गरी निर्धारित समयमै कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नेतृत्व चयन र भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
