मधेशमा नयाँ सत्ता गठबन्धनमा खटपट : ९ बुँदे सहमति पत्र कार्यान्वयनमा भएन हस्ताक्षर

होमल्याण्ड खबर

२०८३ जेष्ठ ११ गते, सोमबार १०:१८ मा प्रकाशित

मधेशमा आइतबार अपराहन्न सरकार विस्तारको तयारी थियो । शपथ ग्रहण गर्न नेकपा एमालेबाट मन्त्री बन्ने तीन सम्भावित प्रदेश सांसद पनि मुख्यमन्त्री कार्यालयमा आइपुगेका थिए ।

एमालेले तीनजना मन्त्रीको नामसमेत दिइसकेको छ । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच्किदा सरकार विस्तार नै रोकिएको छ । अबेर साँझ मन्त्रीको शपथ लिन आएका प्रदेश सांसदहरु निराश भई रित्तै फर्किएका छन् ।

एमालेबाट मन्त्री बन्ने सम्भावित लिस्टमा प्रदेश सांसदहरु सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास आएका थिए । उनीसँगै गत बिहीबार विनाविभागीय मन्त्रीको शपथ लिएका मोहमम्मद समिर पनि आएका थिए ।

‘हामीलाई शपथ खान भनेर चार बजे नै बोलाएको थियो । हामी आएर मुख्यमन्त्री कार्यालयमा बसिरह्यौं । तर, नेकपाका नेता नै आएन । बाटो कुर्दाकुर्दा आज अबेर साँझ हामी फर्कियौं’, शपथ लिन आएका एक प्रदेश सांसदले सुनाए ।