रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य

होमल्याण्ड खबर

२०८३ जेष्ठ १४ गते, बिहीबार ११:१४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट उही पदमा दोहोरिनेहरूको संख्या उल्लेख्य रहने भएको छ । केन्द्र, प्रदेश र जिल्लाको मूल नेतृत्वमा अधिकांश पुरानै अनुहारले जिम्मेवारी यथावत् सम्हाल्ने भएका छन् ।

रास्वपा नेताहरुका अनुसार पदाधिकारीमा कतिपय अन्य नेता समेत उही पदमा दोहोरिने भएका छन् ।

राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेताको जिम्मेवारी प्राप्त गरेका प्रधानमन्त्री बालेन्द्र शाहको पार्टीको पदीय भूमिका त्यही नै रहने भएको छ ।

विगतमा कार्यवाहक सभापतिको भूमिका समेत निर्वाह गरेका उपसभापति डीपी अर्याल सभामुख बनेका छन् ।

एक महिला सहित तीन जना उपसभापति हुने रास्वपाको विधानको व्यवस्था छ । हाल उपसभापतिमा अर्थमन्त्री समेत रहेका डा.स्वर्णिम वाग्ले छन् ।

रास्वपाका नेताहरूका अनुसार तीन उपसभापति मध्ये एक जनामा निर्विकल्प व्यक्ति उपसभापतिमा वाग्ले हुन् ।

२०७९ चैतमा साधारण सदस्यको हैसियतमा वाग्ले रास्वपा प्रवेश गरेका थिए । जलेश्वर बैठकबाट वाग्ले उपसभापति बनेका थिए । रास्वपाका एक पदाधिकारी भन्छन्,‘उहाँ पदको आशक्ति लिएर पार्टीमा आउनु भएको होइन । विश्वले चिनेको अर्थशास्त्री हो । उपसभापति भएको समय पनि धेरै भएको छैन । स्वर्णिमजी, उपसभापति सर्वसम्मत् त्यही पदमा रहनु हुन्छ ।’

हालको विधान अनुसार एक महामन्त्री हुने व्यवस्था भएपनि राजनीतिक सहमतिका आधारमा उक्त पदमा दुई जना छन् । सहमहामन्त्री विपीनकुमार आचार्यको नेतृत्व बनेको विधान संशोधन समितिले महामन्त्री दुई जना हुने गरी विधानमा संशोधन गर्ने भएको छ ।

पार्टीमा रवि लामिछाने पक्षबाट महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् भने प्रधानमन्त्री बालेन पक्षबाट सोही पदमा भूपदेव शाह छन् । रास्वपाका संस्थापक सहमहामन्त्री बुर्लाकोटी गत असारबाट महामन्त्री बनेका हुन् ।

सभापति लामिछाने र सभामुख डीपी अर्यालको विश्वासपात्रको पहिचान बनाएका बुर्लाकोटी महामन्त्री पदको निरन्तरताको पक्षमा रहेको जानकारी गराइएको छ । महामन्त्री कार्यकारी पद समेत हो ।

बुर्लाकोटीको महामन्त्री पद यथावत् हुने/नहुनेमा अन्योलता रहेपनि अर्का महामन्त्री भूपदेव शाहले भने त्यही पदमा निरन्तरता पाउने जानकारी गराइएको छ । शाहलाई गत बैशाखबाट महामन्त्रीमा नियुक्त गरिएको थियो ।

महामन्त्री रहेका बुर्लाकोटी संसदीय दलका प्रमुख सचेतक समेत रहेका हुँदा पछिल्ला दिनहरूमा सांगठनिक कार्यमा अर्का महामन्त्री शाहको सक्रियता बढी छ । दुई पक्षको एकता समायोजनको नेतृत्व पनि महामन्त्री शाहले गरेका छन् ।

शाह संयोजक रहेको एकता समायोजन समितिमा विष्णुपुरुष श्रेष्ठ र रामकृष्ण भट्टराई सदस्य छन् । चुनावअघि रास्वपाले बालने पक्षसँगै विवकेशील साझा, थरुहट लगायतसँग एकता गरेको थियो ।

रास्वपामा सांगठनिक बनोटमा पछिल्लो समय करिब २० प्रतिशत बालेन पक्षका भएको जानकारी गराइएको छ । पार्टीको संगठनको भूमिका प्राप्त गर्न ‘बालेन निकट हुँद’ भन्दै प्रवेश गरेर सहजै पद पाउने हुँदा त्यही बाटो रोज्नेहरू बढेको एक नेताले सुनाए । उनी भन्छन्, ‘मूलधारको रास्वपाबाट भन्दा बालेन पक्ष हुँ भन्नेले छिटो जिम्मेवारी पाउने अवस्था छ ।’

चार वर्षदेखि संगठन निर्माणका लागि कार्यकर्ता जोडिदै आएको हुँदा स्वभाविक रुपमा मूलधार नै सांगठनिक रुपमा बलियो छ । महाधिवेशनमा निर्वाचन हुने अवस्था बने बालेन पक्षबाट निर्वाचित हुनेहरुले जित्न नसक्ने नेताहरू विश्लेषण गर्छन् ।

महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने गर्नुपर्ने मतसँगै निर्वाचनबाट छनोट गर्नुपर्ने मत पनि उत्तिकै छ ।

सहमति गरेर केन्द्रीय समिति ल्याउँदा संगठनमा काम गरेकाहरुको परीक्षण हुन नसक्ने एक विभागका सदस्यले सुनाए ।

उनी भन्छन्,‘हामी चार वर्षदेखि दिनरात पार्टी बनाउन खटिएका छौं । पार्टीको स्थापना गर्नुको मर्म बुझ्न नसक्नेहरू ढोकाबाट नसकी झ्यालबाट केन्द्रीय समितिमा पुग्न खोजेका छन् ।’

रास्वपाको विधान अनुसार सभापति सहित ९९ जनाको पहिलो चरणमा निर्वाचित हुनुपर्ने हुन्छ । निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी चयन गर्न दोस्रो चरणमा मतदान गर्नुपर्ने व्यवस्था छ ।

नेताहरूका अनुसार पदाधिकारी सर्वसम्मत बनाउने गरी छलफल भएको छ । विधानको अहिलेको व्यवस्था यथावत् रहेमा र सहमतिमै पदाधिकारी ल्याउने निर्णय भयो भने छानिएका ९९ बाट पदाधिकारी छान्नुपर्ने हुन्छ ।

केन्द्रीय समिति सदस्य र सहमहामन्त्रीको संख्या बढाउने गरी पनि रास्वपामा छलफल भएको छ । एक महिला सहित तीन जना सहमहामन्त्रीको पदमा हाल एक जना मात्रै छन् ।

१२९ सदस्यीय केन्द्रीय समिति हुने अहिलेको विधानको व्यवस्था छ । सात प्रदे सभापति पदेन केन्द्रीय सदस्य हुने र २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सभापतिले मनोनित गर्ने संख्या थप्नुपर्ने मतहरु पनि रास्वपामा छ ।

प्रदेश र जिल्ला तहमा पनि मूल नेतृत्व र पदाधिकारीमा सोही पदमा दोहोरिनेहरुको संख्या उल्लेख्य रहने भएको छ ।

प्रदेश सभापतिहरुमा कोशीका तपेश्वर यादव, बागमतीमा डा. अच्युत्तम लामिछाने, कर्णालीका मदन खड्का, सुदूरपश्चिमका प्रकाश विष्ट लगायत सोही पदमा दोहोरिने इच्छा देखाएका छन् । कर्णालीका सभापति मदन खड्काले हालकै पदमा काम गर्ने इच्छा रहेको जानकारी गराए । खड्काले अनलाइनखबरसँग भने,‘अहिले प्रदेश समितिमै काम गर्ने मन छ । सर्वसम्मत् भए ठिकै छ । अरु उठ्न खोज्नु भयो भने नउठ्नु भन्न भएन ।’ खड्का रास्वपाको कर्णाली सभापति बनेको १८ महिना भएको छ ।

सुदूरपश्चिमका संस्थापक सभापति प्रकाश विष्ट पनि हालकै पदमा यथावत् रहन चाहेका छन् ।

गत निर्वाचनमा कैलाली –१ बाट विष्ट उम्मेदवारको आकांक्षी थिए । तर, टिकट भने अर्को व्यक्तिले पाएका थिए । एक कार्यकालको लागि प्रदेश सभापतिमै रहने विचार रहेको विष्टले बताए ।

‘संगठन नै नभएको बेला दुःख गरेर बनाइयो । अब बनेको संगठनलाई व्यवस्थित गराउन यही पदमा काम गर्न चाहेको छ,’ सुदूरपश्चिम सभापति विष्टले भने ।

प्रदेश नेताहरूका अनुसार गण्डकी र लुम्बिनीका सभापति भने केन्द्रीय तहमा आउने इच्छा देखाएका छन् । गण्डकीका महामन्त्री नविन त्रिपाठीले आन्तरिक छलफल गरेर केन्द्रमा प्रतिस्पर्धा गर्ने वा प्रदेशमै रहनेमा सहमति गरिने बताए ।
आफू महामन्त्री पदमा यथावत् रहने जानकारी गराउँदै अन्यको हकमा त्रिपाठीले भने,‘यहाँ रहने वा केन्द्रमा जाने बारे छलफल गरेर सहमतिमा निश्चित गर्छौं ।’

काठमाडौंका जिल्ला सभापति प्रदीप विष्ट भने सोही पदमा निरन्तरताको पक्षमा देखिएका छैनन् । केही समय अघि जिल्ला सभापति पद छोड्न खोजेका उनी पार्टी नेतृत्वको आग्रहमा निरन्तरता दिएका थिए । जिल्ला सभापतिमा निरन्तरता दिने/नदिनेबारे सोधिएको प्रश्नमा विष्टले भने,‘साथीहरू पनि हुनुहुन्छ । सल्लाह गरेर निर्णय लिन्छौं । यही पदमा बसिरहनु पर्छ भन्ने पनि हुँदैन ।’

वडा र पालिकाको अधिवेशनको क्रममा रहेको रास्वपाले २३ र २४ जेठमा जिल्ला अधिवेशन गर्ने भएको छ ।

सात प्रदेशको अधिवेशन जेठ २६ गते सुरु गरेर असार १ मा सक्ने कार्यतालिका बनाइएको छ । बागमतीमा २६ जेठ, कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३०, कर्णालीमा ३१ र सुदूरपिश्चममा १ असारमा गरिने भएको छ ।
पार्टी गठन भएको चार वर्ष पुगेकै दिन असार ७ गते पहिलो महाधिवेशन सुरु भएर ९ गते सकिने छ ।