राष्ट्रपति ‘बडो जुक्तिका साथ’ लोकतन्त्र सक्ने काम गर्दै हुनुहुन्छ: केपी ओली

होमल्याण्ड खबर

२०८३ जेष्ठ २० गते, बुधबार १३:५२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ र २४ गतेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।

बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बन्दै आएको आरोप लगाए।

ओलीले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘प्रधानमन्त्री बन्न संविधान चाहिएन। संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ। अनि सम्मानीत राष्ट्रपतिजी बडो जुक्तिले लोकतन्त्र बचाएँ भन्नुहुन्छ,’ ओलीले भने, ‘अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा। त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुभएको छ।’

उनले बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट राष्ट्रपतिले लोकतन्त्र सक्ने काम गरिरहेको आरोप पनि लगाए।

‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन थिएन। तर वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भइरहेको छ,’ उनले भने, ‘जुन कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुन हुँदैन। नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति, सुशासनप्रति प्रतिबद्ध पार्टी हो।’