३० कार्तिक २०८१, शुक्रबार
स्वतन्त्र सांसद एवं गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेले आइतबार सपथ ग्रहण गर्दैछन् । मनाङ्ग जिल्लाबाट प्रदेशसभामा निर्वाचित मनाङ्गे सपथ लिनका लागि आइतबार बिहानै पोखरा आउने तयारीमा रहेको जनाइएको छ ।
ज्यान मार्ने उधोगमा मुद्दा खेपिरहेका मनाङ्गेको मुद्दा किनारा अझै लागेको छैन । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए ।
मनाङ्गे तत्कालीन पुनरावेदन अदालतबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए । गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठक बोलाइएकाले आइतबार उनको सपथ हुनसक्ने भए पनि खुलाइएको भने छैन ।
जेलमै रहेर पनि राष्ट्रिय जनता पार्टी राजपा नेपालका कैलाली १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीले सपथ लिएपछि मनाङ्गेलाई पनि सपथ लिने बाटो खुलेको हो ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद मनाङ्गेको पनि सपथको चर्चा चलेको थियो ।
मनाङ्गेले तत्कालीन एमालेको समर्थनमा चुनाव जितेका थिए । उनलाई पहिले एमालेले नै टिकट दिए पनि विवाद भएपछि स्वतन्त्र उम्मेदवार बनाइएको थियो । अहिले भने सिंगो नेकपा बनेको छ ।