त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने

होमल्याण्ड खबर

२०८३ जेष्ठ २२ गते, शुक्रबार १५:०५ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एन्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एन्ड ड्रप’को समय बढाइएको जानकारी दिए ।

यसअघि सात मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उनले बताए ।

परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एन्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौं, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ,उनले भने ।