कांग्रेसको पाँचलाख ३८ हजारको क्रियाशील सदस्यता अद्यावधिक

होमल्याण्ड खबर

२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:१३ मा प्रकाशित

 नेपाली कांग्रेसले अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ । आज जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा सबैको सहजताको लागि थप गरेको बताइएको छ ।

कांग्रेसले पार्टी सदस्यतलाई डिजिटल बनाउन थालेको सदस्यता अद्यावधिक अभियान आज (बिहीबार) मध्यरातबाट सकिदै छ । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिकमा सन्तोषजनक प्रगति भएको बताए ।

‘कतिपय प्राविधिक कारणले कागजात नपुगेको, अद्यावधिकमा छुटेको कोही हुनुहुन्छ भने पार्टीले हेर्छ । अभियानकै रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम भने आज सकिदैछ’, उनले भने । क्रियाशील सदस्यता अद्यावधिक गर्ने कामले कांग्रेसलाई नयाँ तागत दिएको पौडेलको भनाइ छ ।

देशभरका लाखौं कार्यकर्ता एउटै डिजिटल प्रणालीमा आवद्ध भएको भन्दै महामन्त्री पौडेलले कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउने केन्द्रीय समितिको निर्णयमा आम कार्यकर्ताले साथ दिएको बताए । उनले राजनीतिक रुपमा असन्तुष्ट नेताहरुसँग संवाद जारी रहेको भन्दै विधानभित्र रहेर सम्भव हुने सबै सहमतिका लागि तयार रहेको बताए ।