३१ जेष्ठ २०८३, आईतवार
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभएसम्म देश र जनताले सुख र शान्ति पाउन नसक्ने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित ‘राष्ट्रवादी पार्टी’ निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।
पार्टी निर्माण र सहकार्यका विषयमा मिडियामा आएका विभिन्न चर्चाप्रति सङ्केत गर्दै प्रसाईंले डा. राणा र आफूबिच स्वार्थको नभई लक्ष्य र उद्देश्यको सहकार्य भएको स्पष्ट पारे।


नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने, “यहाँ मिल्ने र बिग्रिने कुरै छैन। बिग्रिने केका लागि? मिल्ने केका लागि? पहिला उद्देश्य हुनुपर्यो नि! हामी दुई जनाको उद्देश्य एउटै छ— नेपालको भूगोल, र यो भूगोलको गर्भमा रहेको किराँत तथा बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। हाम्रो उद्देश्य यही नै हो। जुन दिन राजसंस्था फर्किन्छ र राजा गद्दीमा बस्छन् नि, त्यो दिन यी दाजु-भाइ (धवल र म) पहिलो लुगा लगाएर खप्तड जाउँला नि! कस्ता-कस्ता योगी महात्माहरू खप्तड बसेका छन्, के बिग्रेको छ र यहाँ?”
संयोजक प्रसाईंले नेता राणा र आफूबिच स्पष्ट लक्ष्यसहितको सहकार्य सुरु भएकाले कसैले चाहेर पनि बिचमा फाटो आउने अवस्था नरहेको दाबी गरे। राणाको सङ्गठनात्मक अनुभव र आफ्नो देशव्यापी जनलहर (ब्राण्ड) मिलेर आगामी केही महिनाभित्रै देशमा एउटा शक्तिशाली दक्षिणपन्थी शक्तिको उदय हुने र त्यसले सडकदेखि सदनसम्म राजसंस्था स्थापनाको एजेन्डा स्थापित गर्ने उनको भनाइ छ।