२ असार २०८३, मंगलवार
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्। सोमबार उनले ४० भन्दा बढीविरुद्ध उजुरी गरेकी हुन्।
‘विगत केही सातादेखि मैले संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, गालीगलौज, चरित्रहत्या र घृणायुक्त अभिव्यक्तिहरू निरन्तर आइरहे,’ उनले लेखेका छन्, ‘यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या सयौँबाट हजारौँमा पुग्यो। मेरो व्यक्तिगत मोबाइल फोनदेखि लिएर, म्यासेन्जर सम्ममा बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका अभिव्यक्तिसम्म आए।’


त्यसैले साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको उनले जानकारी दिइन्। उनले आफ्नो विचारप्रति आलोचना गर्न सक्ने तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुव्र्यवहार कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने उनले बताइन्।
‘टिकटक, युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा मेरो बारेमा सामग्री अपलोड गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने, घृणा फैलाउने सबैलाई म स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, अझै पनि त्यस्ता सामग्रीहरु हटाउने समय तपाईंहरुसँग छ,’ उनले लेखेकी छन्, ‘अन्यथा आजदेखि नै कानुनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस्। सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्ति प्रति मेरो शून्य सहनशीलता रहनेछ।’
ओलीले संवेदनशील विषयप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गरेकोमा गृहमन्त्री सुधन गुरुङ र साइबर ब्युरोप्रति आभार पनि व्यक्त गरेकी छन्। ओलीले आफूलाई ज्यान मार्ने धम्की र बलात्कारको धम्की दिएको भन्दै संसद्मा कुरा उठाएपछि गृहमन्त्री गुरुङले सदनमै भेटेर धम्की दिनेलाई कारबाही गर्ने आश्वासन दिएका थिए।