धनगढीमा रास्वपा नेतामाथि भएको आक्रमणप्रति ऐन महरको आपत्ति

होमल्याण्ड खबर

२०८३ असार २ गते, मंगलवार १३:३३ मा प्रकाशित

नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शैलेश सिंहमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै महरले रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्कने क्रममा सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण भएको जानकारी गराए । उनका अनुसार गत असार १ गते राति ७–८ जनाको समूहले धनगढीमा सिंहमाथि आक्रमण गरेको थियो ।

महरले आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उनीसँग रहेको ल्यापटप, मोबाइल फोन, घडी र सुनको सिक्रीसमेत लुटेको बताए ।

सिंह गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट रास्वपाका उम्मेदवार बनेका नेता भएको उल्लेख गर्दै महरले जिम्मेवार राजनीतिक व्यक्तिमाथि भएको आक्रमणले मुलुकमा अराजकता र दण्डहीनता बढ्दै गएको संकेत गरेको बताए । उनले घाइते सिंहको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

बैठकमा महरले बझाङको केदारस्युँ गाउँपालिका–६ का दीपक धामीको जापानको ओसाकामा भएको निधनको विषय पनि उठाए । अध्ययन र रोजगारीका लागि ऋण लिएर एक वर्षअघि मात्रै जापान पुगेका धामीको असामयिक निधनले परिवार शोकमा डुबेको उनले बताए ।

‘परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ । मृतक धामीको पार्थिव शरीर नेपाल ल्याउन आवश्यक समन्वय र सहयोग गरिदिन नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्दछु,’ महरले भने ।

उनले धामीको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरे ।