२ असार २०८३, मंगलवार
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य संरक्षण तथा स्वास्थ्य सेवामा सहज पहुँचको विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत बीच मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उक्त विषय उठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।


भेटवार्तामा मन्त्री मेहताले दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपाली नागरिकको स्वास्थ्य सुरक्षा सुदृढ बनाउन तथा आवश्यक स्वास्थ्य सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न विशेष पहल आवश्यक रहेको धारणा राखेकी थिइन् ।
मन्त्रालयका अनुसार राजदूतले नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा दक्षिण कोरिया सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र उपलब्धिमूलक ढंगले अघि बढाउने विश्वास पनि व्यक्त गरिएको जनाइएको छ ।
भेटका क्रममा नेपाल र गणतन्त्र कोरिया बीच स्वास्थ्य क्षेत्रको साझेदारी तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो ।
स्वास्थ्य बीमा प्रणालीको विकास, स्वास्थ्यकर्मीको सीप तथा क्षमता अभिवृद्धि, स्वास्थ्य पूर्वाधार विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने पहल, स्वास्थ्य पर्यटनको प्रवर्द्धन तथा जडीबुटी र औषधिजन्य उत्पादनका क्षेत्रमा सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।