प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

होमल्याण्ड खबर

२०८३ असार ५ गते, शुक्रबार १६:३२ मा प्रकाशित

प्रतिनिधिसभाको बैठकले विभिन्न चार अध्यादेशलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा सांसद खडकबहादुर बुढाले राख्नुभएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको छ ।

त्यस्तै सांसद नीता घतानीले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भनी राखेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ भने सांसद आरेन राईले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्ताव समेत अस्वीकृत भएको छ ।

त्यसै गरी सांसद  कृपाराम रानाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्ताव पनि बैठकमा अस्वीकृत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बिहीबार बोलाइएको छ ।