९ असार २०८३, मंगलवार
नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन भनेको कानुन भन्दा माथि कोही पनि नहुने बताएका छन्। झापा पुगेका सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्ने बताए।
उनले भने, ‘सरकारले अनुसन्धान गरोस्। पुरानो सबै फाइल खोल्नुस्। सबै काण्डको खोल्नुस्। हाम्रो पार्टीको कोही नेता पर्छ, दोषी देखिन्छ भने कांग्रेसले चुइँक्क गर्दैन। कानुनको सीमाभित्र बसेर तपाईँले गर्नुपर्छ। विधिको सीमाभित्र बसेर गर्नुपर्छ।’


उनले कांग्रेसले नागरिकका मुद्दा उठाउने बताए।
उनले चिया किसानको समस्यादेखि हतार हतारमा सरकारले प्लस टु र एसइईको नतिजा ल्याउँदा देखिएको समस्याबारे पनि आफूले ध्यान दिएको बताए।
उनले भने, ‘सरकारले अहिले चाँडो परिणाम निकाल्छु भनेर वाहवाही बटुल्छु भनेर हतार गर्दै गर्दा एसएलसीमा पनि सयौँ केटाकेटीको बिजोग भयो, अहिले १२ कक्षामा पनि सयौँ–सयौँ केटाकेटीको बिजोग भयो, त्यसमध्ये मेरो छोरा पनि पर्यो भनेर आज एकजना आमाले भन्नुभयो। म काठमाडौं गएपछि यो खालको पीडामा परेकाको कुरा सुन्नुछ।’