उपत्यकासहित ११ जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि, सतर्कता अपनाउन आग्रह

होमल्याण्ड खबर

२०८३ असार १० गते, बुधबार ११:२६ मा प्रकाशित

नेपालमा पछिल्लो तीन महिनायता फैलिएको बर्ड फ्लु (एच–फाइभ एन–वान) संक्रमण हालसम्म ११ जिल्लाका ८२ स्थानमा पुष्टि भएको छ। पशु सेवा विभागले रोग नियन्त्रणका लागि उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर नियन्त्रणका प्रयासहरू तीव्र बनाएको जनाएको छ।

विभागका अनुसार २०८२ चैत ४ गते मोरङमा पहिलो पटक संक्रमण पुष्टि भएपछि झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा रोग फैलिएको हो।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।

कोशी प्रदेशमा संक्रमण फैलिन नदिन गृह मन्त्रालयसँगको समन्वयमा एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो। रोग नियन्त्रणमा आएपछि उक्त प्रतिबन्ध खुकुलो बनाइएको विभागले जनाएको छ।

पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखी अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरिएको छ। त्यस्तै केन्द्रीय तथा क्षेत्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरूले रोगको शीघ्र परीक्षण तथा निदान कार्यलाई प्रभावकारी बनाएका छन्।

प्रयोगशालामा संक्रमण पुष्टि हुनासाथ आकस्मिक रोग अन्वेषण टोली (इडिट) परिचालन गरी जोखिम मूल्यांकन गर्ने तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा द्रुत कार्यदल (आरआरटी) परिचालन गरेर संक्रमित क्षेत्रका पन्छी, पन्छीजन्य पदार्थ र उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार कोशी प्रदेशमा देखिएको संक्रमण हाल पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। तर पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण देखिने क्रम बढ्दै गएको छ।

देशमा फैलिएको बर्ड फ्लु भाइरसमा कुनै आनुवंशिक परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले सर्वसाधारण तथा व्यवसायीलाई सतर्कता अपनाउन, रोगका लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

विभागले बर्ड फ्लु तथा अन्य संक्रामक पन्छीजन्य रोगको जोखिम बढिरहेका बेला पन्छीपालक किसान तथा व्यवसायीलाई जैविक सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

विभागले जारी गरेको सूचनामा फार्म परिसरमा जैविक सुरक्षाका सबै विधि अवलम्बन गर्न, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न तथा ढुवानीका साधन फार्मभित्र प्रवेश गराउनुपरे पूर्ण रूपमा निःसंक्रमण गरेर मात्र भित्र्याउन अनुरोध गरिएको छ।

त्यस्तै काग लगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीको दाना सम्पर्कमा आउन नदिने गरी सुरक्षित रूपमा पन्छीपालन गर्न पनि विभागले आग्रह गरेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र कारोबार गर्नुपर्ने उल्लेख गरिएको छ।

विभागका अनुसार हाल प्रयोगशालामा प्राप्त नमूनाको परीक्षण गर्दा बर्ड फ्लु बाहेक लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच–९ एन–२), रानीखेत रोग तथा इ. कोलाई संक्रमण समेत धेरै पन्छीमा देखिएको छ। यस्ता रोगका कारण पनि पन्छीमा उच्च मृत्युदर हुन सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरी सुरक्षित व्यवस्थापन गर्न सुझाव दिइएको छ।

संक्रमण देखिएको अवस्थामा फार्म परिसरलाई पूर्ण रूपमा निःसंक्रमण गरी प्राविधिकको सल्लाहअनुसार आवश्यक नियन्त्रणका उपायहरू अवलम्बन गर्न विभागले आग्रह गरेको छ।

साथै कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।

बर्ड फ्लु लगायतका पन्छीजन्य रोग नियन्त्रणका लागि सबै सरोकारवाला निकाय, किसान, व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको भन्दै विभागले सबैलाई सतर्कता अपनाउन आह्वान गरे ।