असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई जग्गा वितरण सुरु गर्ने सरकारको तयारी

होमल्याण्ड खबर

२०८३ असार १० गते, बुधबार १३:०० मा प्रकाशित

सरकारले आउँदो असार महिनाको तेस्रो हप्तादेखि बर्दिया जिल्लाका सुकुम्बासी परिवारलाई ४ आनाका दरले जग्गा बाँडेर भूमिहीनहरूका लागि जग्गा वितरण अभियान थाल्ने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगत संकलन सम्पन्न भइसकेका जिल्लाहरूमा क्रमशः जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुरलगायत जिल्लामा पनि यो प्रक्रिया अघि बढाइने छ ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म दुई लाखभन्दा बढी सुकुम्बासीको लगत संकलन भइसकेको छ । प्रमाणीकरण भएका प्रत्येक सुकुम्बासी परिवारलाई चार आना जमिन उपलब्ध गराइने भएको हो, जो सम्बन्धित जिल्लाकै सरकारी स्वामित्वको जग्गाबाट दिइनेछ ।

यसअघि गत जेठ १९ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश बलभद्र बाँस्तोलाको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा थप उपसमिति पनि बनाएको छ । अघिल्लो भूमि आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरि १२ लाख ९ हजार ५८५ सुकुम्बासी रहेका छन् ।