वाइडबडी खरिद अनियमिततामा मेरो संलग्नता छैन: मन्त्री अधिकारी

होमल्याण्ड खबर

२०७५ पुष २३ गते, सोमबार ११:३६ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले वाइड बडी खरिदमा आफूले पछिल्लो दुई किस्ताको रकममात्र निकासा गरिदिएको तर संसदीय उपसमितिले अनुमानका भरमा आफूमाथि अनियमितताको आरोप लगाएको बताएका हुन्।

उनले भने, ‘म यो विश्वास दिलाउन चाहन्छु कि म कुनै समस्याबाट भागेर कसैले समाधान निकालोस् भन्ने सोचमा छैन ।

‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ,’ उनले भने, ‘मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो।

मन्त्री अधिकारीले सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमिततामा मुछेको आरोप लगाए। उनले आफूले संसदीय समितिमा रहेर काम गरेभन्दा बेग्लै तरिकाले अहिले उपसमितिले अनुसन्धान गरेको दाबी गरे।

यसअघि संसदको सार्वजनिक लेखा समितिले बनाएको वाइड बडी छानबिन उपसमितिले खरिदमा ४ अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा पूर्वपर्यटन मन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक दोषी र मन्त्री अधिकारी दोषी बनाइएको छ।