अनियन्त्रित रथका कारण बालिकाको मृत्यु

होमल्याण्ड खबर

२०८३ असार १९ गते, शुक्रबार १६:३७ मा प्रकाशित

मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ।

उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले  बताए। स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गए राति मटकोर विधि सञ्चालन भइरहेको थियो। सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को विहेको रथको ब्रेक अचानक फेल भई रथ अनियन्त्रित रुपमा विवाह समारोहमा पसेको थियो।

विवाह समारोहमा रथ प्रवेश गर्दा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया घाइते भइ प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ।  प्रहरीले रथ नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ।