अब यो देशमा रगत होइन पसिना बगाउनुपर्छ : हर्क साम्पाङ

होमल्याण्ड खबर

२०८३ असार २२ गते, सोमबार १४:५५ मा प्रकाशित

श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले व्यवस्था परिवर्तनको बहस सुनिन थालेको भन्दै त्यसतर्फ नसोच्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै व्यवस्था र अवस्था परिवर्तनको नाममा धेरै आमाको कोख रित्याएको भन्दै फेरि त्यो अवस्थातर्फ लैजान नहुने बताए ।

“फेरि मुलुकमा सहिद हुनुपर्ने गतिविधि हामीबाट हुनुहुँदैन । बौद्धिक, विद्धान व्यक्तिहरू त्यसतर्फ सोचिरहनु भएको छ भने म अनुरोध गर्न चाहन्छु, त्यसतर्फ नसोचौँ,” उनले भने ।

साम्पाङले अब देशमा रगत होइन पसिना बगाउनुपर्ने धारणा राखे । “अब यो देशमा रगत होइन पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तन गरेर मात्रै हाम्रो जीवनस्तर उकासिन सकेन । रगत होइन पसिनाको क्रान्ति गर्नुपर्छ । काम गर्नुपर्छ,” उनले भने ।

साम्पाङले यही देशमा भविष्य भेट्नका लागि विदेश जानुपर्ने सिलसिलाको अन्त्य गर्नुपर्ने बताए । संविधान संशोधन गर्दा संघीयता, समावेशी र धर्मनिरपेक्षताको आधारभूत संरचना तलमाथि गर्न खोजियो भने देशमा दुर्घटना निम्तिने चेतावनी दिए ।