२४ असार २०८३, बुधबार
सिंहदरबारभित्रका सरकारी कार्यालयमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरसः पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको जनाएको छ।


सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताए।
सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गमैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई क्रमशः अन्त्य गर्दै लगिने बताए।