काठमाडौंबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

होमल्याण्ड खबर

२०८३ असार २८ गते, आईतवार १२:४८ मा प्रकाशित

लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६, कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल (Tramadol HCL) क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ। ब्युरोले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लागू औषध कारोबार हुन सक्ने उच्च जोखिमयुक्त स्थानमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनाम र मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन्।

उनीहरूको साथबाट ट्रामाडोल ७२ हजार ९ सय क्याप्सुल, बा.५७ प २४२४ नम्बरको एक स्कुटर र एक थान मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरोका अनुसार घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।