३२ असार २०८३, बिहीबार
सर्वोच्च अदालतले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त आदेश गरेको हो ।
पूर्वसांसद कोइरीका छोरा मनोज कुमार महतोले आफ्ना बाबुलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमा इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी लगायतलाई विपक्षी बनाइएको थियो ।


मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘निवेदकलाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए आजै थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको हुँदा निवेदक लक्ष्मी महतो कोइरीलाई आजै थुनामुक्त गरी दिनुहुन आदेशानुसार अनुरोध गरिन्छ ।’
अदालतले यस आदेशको बोधार्थ तथा कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी), जिल्ला प्रहरी कार्यालय जलेश्वर (महोत्तरी), महोत्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरलाई समेत पठाएको छ ।
मधेश आन्दोलनका क्रममा २०७२ सालमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।
