१८ श्रावण २०८३, सोमबार
नयाँ पार्टी निर्माणको क्रममा रहेका डा. धवलशमशेर राणाले दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।
सोमबार विज्ञप्तिमार्फत राणाले आलोचना, फरक मत र मत–अभिमत लोकतान्त्रिक पद्धतिको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।


नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार रहेको उनको भनाइ छ। सरकारको आलोचना गर्न नपाइने अवस्था लोकतान्त्रिक शासन प्रणालीसँग मेल नखाने उनले बताएका छन्।
राणाले विभिन्न आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिनमा देशका केही स्थानमा देखिएका आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले संवेदनशील परिस्थितिमा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, दिगो शान्तिको प्रत्याभूति दिन र सरकारको जवाफदेहिताका लागि पहल गर्न आग्रह गरेका छन्।
