सुनकोशीमा खसेको कार खोज्न गोताखोरसहितको टोली परिचालन

होमल्याण्ड खबर

२०८३ श्रावण १८ गते, सोमबार १६:१८ मा प्रकाशित

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

सोमबार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको छ ।

दुर्घटनापछि कार नदीमा बेपत्ता भएपछि खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीले बेपत्ता कार र त्यसमा सवारहरूको खोजी गरिरहेको छ।

दुर्घटनामा फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा वतन नखुलेका अर्का एक जना बेपत्ता भएका छन् ।