२१ श्रावण २०८३, बिहीबार
ललितपुरको ग्वार्को फ्लाईओभरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बिहीबार बिहान करिब १०ः ३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरको संरचनामा ठोक्किएपछि दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा परेकी दोलखा सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।


दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रामेछापकी २३ वर्षीया सुन्निमा योन्जनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको छ भने बसका सहचालक ६० वर्षीय कृष्णराम थापाको बायाँ खुट्टा भाँचिएको छ। अन्य घाइतेहरूको टाउको, हात, कम्मर र खुट्टामा विभिन्न प्रकृतिका चोट लागेको छ ।
घाइतेमध्ये १० जनाको बी एण्ड बी अस्पताल र ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ । अधिकांश यात्रु भक्तपुर, सूर्यविनायक र आसपासका क्षेत्रमा बसोबास गर्ने रहेको खुलेको छ ।
प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा बस फ्लाईओभरको संरचनामा ठोक्किएको देखिए पनि दुर्घटनाको वास्तविक कारण प्राविधिक परीक्षणपछि मात्र खुल्ने प्रहरीको भनाइ छ । घटना भएपछि केही समय ग्वार्को क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।