२४ श्रावण २०८३, आईतवार
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकका धारणा तीन किसिमका रहेको बताएका छन्। उनका अनुसार कतिपय नागरिकमा अनिश्चितता, केहीमा हतास र अर्को समूहमा आक्रोश देखिएको छ।
आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै थापाले आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको र उनीहरूमा सरकारप्रति बढ्दो असन्तुष्टि महसुस गरेको बताए।


उनले भने, ‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु। केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन। भोलि पनि हुन्न भने हतास भएको पाउँछु। केही नागरिकलाई आक्रोश छ।’
नागरिकमा देखिएको यही असन्तुष्टिको परिणामका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिनअघिको स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्तिलाई लिन सकिने थापाको विश्लेषण छ।
उनले नागरिकको आक्रोशबाट कांग्रेस उत्साहित नभइ गम्भीर बन्नुपर्ने बताए। विगतमा समेत नागरिक राजनीतिक नेतृत्वसँग असन्तुष्ट रहेको आफूले संसद् र पार्टी बैठकमा उठाएको स्मरण गर्दै थापाले जनताको असन्तुष्टिलाई बेवास्ता गर्न नहुने बताए।
त्यसबेला पार्टीभित्र व्यक्त भएको धारणा स्मरण गर्दै उनले भने, ‘जनताको बारेमा कसैले जिम्मेवारी लिनु आवश्यक छैन भनियो। नागरिक र जनताको बारेमा तिमीहरूले भनेर हुँदैन भनियो। हामीले जितेर आएका छौं भनियो।’