२४ श्रावण २०८३, आईतवार
नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको र अनावश्यक सञ्चय (होल्ड) नगर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ ।
संघले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास आपूर्तिलाई लिएर काठमाण्डु उपत्यका लगायत देशका विभिन्न स्थानमा उपभोक्ताहरूले चिन्ता व्यक्त गरेपछि बजारको वास्तविकता स्पष्ट पारेको हो ।


संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीहरूबाट हुने एलपी ग्यासको आयात हाल करिब १५ प्रतिशतले वृद्धि भएको छ । सहज रूपमा भइरहेको आयातसँगै ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिलिङ गरी बजारमा पठाउने कार्य निरन्तर जारी रहेको संघले जनाएको छ ।
ग्यास सकिने आशंकामा उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्ने, जगेडा राख्ने र होल्ड गर्ने प्रवृत्तिले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । यसले गर्दा साँच्चै ग्यास आवश्यक परेका सर्वसाधारणले सहजै ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था बनेको संघको ठहर छ ।
उपभोक्ताहरूले अतिरिक्त ग्यास खरिद नगरेमा अहिले देखिएको समस्या तत्काल समाधान हुने र आगामी दिनमा पनि आपूर्ति सहज रहने भएकाले अभाव हुने कुनै सम्भावना नरहेको संघले स्पष्ट पारेको छ ।
संघले ग्यास बिक्रेताहरूलाई घरायसी प्रयोगकर्ताहरूलाई प्राथमिकतामा राखेर मात्र ग्यास बिक्री वितरण गर्न आग्रह गरेको छ । आफ्ना सदस्य उद्योगहरू र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाउँदै संघले सम्पूर्ण उपभोक्तालाई धैर्य र संयम अपनाउन अनुरोध गरेको छ ।