लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

होमल्याण्ड खबर

२०८३ श्रावण २७ गते, बुधबार १०:३६ मा प्रकाशित

लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका अझै बेपत्ता छिन् । देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमका १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुनको शव फेला परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक बिहान साढे ६ बजे दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने र पौडी खेल्ने क्रममा तीनै बालबालिका डुबेर बेपत्ता भएका थिए । डुबेकामध्ये शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन अझै बेपत्ता छिन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार बेपत्ता बालिकाको खोजी तीव्र पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट ९ सदस्यीय डुबान उद्धार टोली खटिएको छ ।